भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिने मुख्यमन्त्रीमा नियुक्त

एजेन्सी

११ माघ, काठमाडौं । भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । यो समाचारले हिन्दी फिल्म नायकको याद दिलाउँछ ।

हामीले उक्त फिल्ममा अनिल कपुरलाई एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं। तर भारतको उत्तराखण्डमा सृष्टि गोस्वामीलाई सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो ।

हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि कार्यकारी अधिकारसहित आज एक दिनको मुख्यमन्त्री बन्नेछिन् । उनको उपस्थितिमा विधानसभा बैठक पनि बस्नेछ । विधानसभाको कोठा नम्बर १२० मा बैठक बस्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सृष्टिलाई मुख्यमन्त्री बनाएर बैठक आयोजना गर्ने स्वीकृति र निर्देशन उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिइसकेका छन् ।

उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको हो ।

बुधबार मुख्य सचिव ओमप्रकाशलाई एक पत्र पठाउँदै २४ जनवरीका दिन बालिकाहरुको सशक्तिकरणका लागि एक प्रतिभाशाली छात्रालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको नेगीले बताएकी छन् ।

प्रतिकात्मक भए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुनेछिन् । यो एक दिनको कार्यकालमा सृष्टिले विकास कार्यक्रमको समीक्षा गर्नेछिन् । यसका लागि छानिएका विभागका अधिकारीले ५/५ मिनेटको समयमा आ-आफ्नो रिपोर्ट पेस गर्नेछन् । विधानसभा आज १२ बजेदेखि ३ बजेसम्म चल्नेछ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यो कार्यक्रममा सहभागी हुनेछन् ।

सृष्टिका पिता प्रविण पुरीले आफ्नी छोरीमाथि गर्व महसुस भएको बताए। सृष्टिले बीएसएम पीजी कलेज रुडकीमा बिएस्सी कृषि अध्ययन गर्दैछिन् ।

२०१८ मा बाल विधानसभामा बाल विधायकहरुको तर्फबाट उनलाई मुख्यमन्त्री चयन गरिएको थियो । बाल विधानसभामा हरेक ३ वर्षमा एक बाल मुख्यमन्त्री चयन गरिन्छ ।

एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुको सशक्तीकरणका लागि जागरूकता फैलाउनु भएको नेगीले जानकारी दिएकी छन् ।

यसअघि सृष्टिलाई सन् २०१८ मा उत्तराखण्ड बाल विधानसभाको मुख्यमन्त्री चुनिएको थियो। उत्तराखण्डमा बाल विधानसभा गठनको कार्यक्रम बाल अधिकार संरक्षण आयोगले गर्छ ।