कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान

१० माघ, काठमाडौं । घृणात्मक अभिव्यक्तिमा अग्रसर देखिँदै आएका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुलाई नर्क जान्छन् भनेको भोलिपल्ट आफैंलाई ज्यानमुद्दाबाट बचाउने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अपमान गरेका छन् ।

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा भइरहेको संसद विघटन सम्बन्धी बहसलाई ‘तमासा’को संज्ञासमेत दिएका छन् ।

विसं २०१४ सालमा अधिवक्ताको पहिलो लाइसेन्स लिने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्री ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा ‘बाजे’ भन्दै अपमान गरेका हुन् । उनलाई अदालतमा ‘तमासा देखाउन लगिएको’ समेत प्रधानमन्त्री ओलीले बताए ।

‘संसद पुनस्र्थापना गर्ने कुनै ठाउँ संविधानमा छैन । वकिलहरुले कुरा फिट्या फिट्यै छन् कोही वकिलहरुले,’ प्रधानमन्त्रीले भने, ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन । किन दुःख दिया हुन् बूढा मान्छेलाई ?‘. लगेछन् ।’

वरिष्ठ अधिवक्ता भण्डारीले दशकौंदेखि लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले शुक्रबारको एक कार्यक्रममा उनलाई अपमानित गर्दै ‘बाजेलाई तमासा देखाउन लगिएको’ भन्दै अपमानित गरेका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारी कसैबाट बोकिएर अदालतमा बहस गर्न गएका होइनन् । उनी राजा महेन्द्रले प्रधानन्यायाधीशको प्रस्ताव गर्दासमेत अस्वीकार गर्ने त्यागी कानुनविद हुन् ।

९४ वर्षको उमेरमा पनि बहसमा सक्रिय रहेका भण्डारीले वकालत सिकाएका मानिसहरु प्रधानन्ययाधीश र प्रधानमन्त्रीसम्म बनिसकेका छन् । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरी, गोविन्दबहादुर श्रेष्ठ, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत कानुन सिकाउने गुरु मानिन्छन् भण्डारी ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता एवं ज्येष्ठ नागरिक भण्डारीलाई ‘बाजे’ भनेर अपमानित मात्रै गरेनन्, सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएर अदालतको समेत अपमान गरे । एक कानुनविदले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले बोलेको यो कुरा सामान्य होइन, अदालतको मानहानी हो ।’

ओलीलाई ज्यान मुद्दाबाट बचाउन चिउरीबासको उकालो !

‘तमासा देखाउन, दुःख दिएर लगिएका बाजे वकिल’ भन्दै केपी ओलीले अपमानित गरेकावरिष्ठ अधिवक्ता भण्डारी तिनै व्यक्ति हुन्, जसले पञ्चायतकालमा स्वयं ओलीलाई ज्यान मुद्दाबाट बचाउन दुःख गरेका थिए ।

काठमाडौं र झापामा मात्र होइन, धनकुटामा समेत ओलीको पक्षमा मुद्दा लड्न भण्डारीले धरानबाट चिउरीबास र मुलघाटको कष्टपूर्ण उकालो(ओरालो पैदल यात्रा गरेका थिए ।

वरिष्ठ अधिवक्ता भण्डारीको नजिक रहेर काम गरेका एकजना कानुनविदले अनलाइनखबरसँग भने, ‘त्यसबेला उहाँले केपी ओलीका लागि निकै दुःख गर्नुभयो । धरानबाट पैदलै हिँडेर धनकुटासम्म पुग्नुभयो ।’

केपी ओली त्यसबेला झापामा व्यक्ति हत्या गरेको अभियोगमा जेल परेका थिए । पञ्चायती सरकारले उनीमाथि ज्यान मुद्दा लगाएको थियो ।

झापामा ०२८र०२९ सालतिर केपी ओलीको समूहले व्यक्तिहत्याको राजनीति अवलम्वन गरेको थियो । त्यसबेला केही धनी किसानहरुको टाउको काटेर हत्या गरिएको थियो । फरार रहेका ओली रौतहटबाट पक्राउ परेका थिए, जो १४ वर्षपछि जेलमुक्त भए ।
अनलाईनखबरबाट