प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दै, नेकपाका दुबै समूह मुडभेडको स्थितिमा

७ माघ, विराटनगर । प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नेकपाको विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना छ ।

ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने बताउँदै आएको छ । प्रचण्ड–माधव पक्ष भने बैठक कक्षमा प्रवेश गर्ने र मुख्यमन्त्री शेरधन राईलाई दलको नेताको रुपमा बोल्न नदिने योजनामा छ ।

नेकपा प्रमुख सचेतक एवम् ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले निलम्बनमा परेका १६ जना प्रदेशसभा सदस्य बैठक कक्षमा प्रवेश गरे बैठक सञ्चालन हुन नसक्ने बताए । पार्टीको संसदीय दलले कारबाही गरेका सांसदलाई प्रवेश गर्न नदिने ओली पक्षको तयारी छ ।

यता प्रचण्ड–माधव पक्षका नेता भने मुख्यमन्त्री शेरधन राईको सट्टा भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्ने बताउँछन् । ‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले दलको नेताको हैसियतमा प्रदेशसभामा सम्बोधन गर्न मिल्दैन,’ प्रचण्ड–माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘दलको नेताको हैसियतमा भीम आचार्यले बोल्नुहुन्छ, मुख्यमन्त्रीलाई बहुमत सदस्यले दलको नेताबाट हटाइसक्यौं ।

ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । निलम्बनमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नमिल्ने ओली समूहका राजभण्डारीले दाबी गरे । यही स्थितिलाई मध्यनजर गदै प्रदेशसभामा मुठभेडको स्थिति निम्ताउन सक्ने आँकलन गरिएको छ । नेकपा विभाजनले प्रदेशसभामा प्रवेश पाउने भएपछि संसद सचिवालयले मर्यादा पालकको संख्या थप गरेको छ ।