ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन

अध्यक्ष, माधव नेपाल

६ माघ, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।

यद्यपि, ओलीले पद नछाड्ने उनले बताए । ‘तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थपे ।

ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भ¥याङ बनाएको उनले टिप्पणी गरे । नेपालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’

ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए ।

‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’

प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उनले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत बताए ।