२ माघ, काठमाण्डौ । नेपाली निबन्ध र आख्यानमा राजनीतिक स्वाद दिने अग्रणी लेखकमा पर्छन् नारायण ढकाल । तीनदशक बामपन्थी राजनीति गरेका उनी २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट संसद सदस्य बनेका थिए ।
ढकाल काठमाडौंको काँठ क्षेत्र मूलपानीका रैथाने हुन् । तत्कालीन नेकपा (एमाले) का कर्मठ सदस्य उनी दुई दशकयता भने एक किनारमा उभिएर सुस्केरा मार्दै नेपालको वाम राजनीति नियालीरहेका छन् ।
‘दुर्भिक्ष’, ‘प्रेतकल्प’, ‘वृषभ वध’ लगायत पाँच उपन्यास, छ कथासंग्रह, दुई बालकथा र दुई निबन्धसंगालोका स्रष्टा ढकाल वामपन्थी लेखकका रूपमा चिनिन्छन् । उनको कलमले सधैं नेपाली राजनीतिको कुरूपतामाथि प्रहार गरेको हुन्छ । आफूलाई ‘बागी लेखक’ मान्ने ढकाल जनताका प्रतिनिधिले खेलेको संविधान च्यात्ने कृत्यलाई अक्षम्य मान्छन् ।
अहिले केपी शर्मा ओलीले संसद विघटन गरेसँगै ढकाल सांसद बनेकोजस्तै मध्यावधि निर्वाचनको चर्चा छ । संसद विघटनमाथि पक्ष(विपक्षमा सडक तातिएको छ । संसद विघटनपछिको राजनीतिक परिवेशमा साहित्यकार ढकालसंग अनलाईनखबरका निर्भीकजंग रायमाझीले लिएको अन्तरवार्ता ः हामी यहाँ उतार्न चाहन्छौ ।
केपी ओलीको कदमलाई ‘घप्पु’ भन्नुभएको थियो । खालमा उनी निकै माहिर देखिदैछन् होइन ?
केपी ओलीमा पहिल्यैखि विचारको राजनीति नगर्ने, आफूलाई केन्द्रमा राख्ने, त्यसको लागि झेली जुवा (घप्पु) खेल्ने स्वभाव थियो । राजनीति भनेको सिद्धान्त, विचार र आस्थाको संगम हो, तर ओलीमा आफ्नो सनकलाई सबैको इच्छा ठान्ने तुच्छ प्रवृत्ति छ ।
अहिले प्रतिगामीहरुको साथ लिन राष्ट्रिय राजनीतिमा घाँस हालेका छन् उनले । साना बामपन्थी समूहहरूलाई पनि मिलाएको देखिन्छ । नेपाली कांग्रेसलाई पनि अनेक प्रलोभन देखाएका छन् । झेल गरेर एकचोटी जित्न सकिएला, तर जिन्दगीभर झेल गर्न सकिन्न ।
इतिहासमा झेल गर्नेहरूको हार भएको छ ?
मूल्यको राजनीति पछिसम्म रहन्छ । चाणक्यले शासकलाई साम, दाम, दण्ड, भेदसहित चाटुकारको झुण्ड बनाउने तत्त्व भनेका थिए । त्यो केपी ओलीमा शतप्रतिशत लागू हुन्छ ।
ओलीले उत्पादन गरेको राजनीतिक झुण्डले उनलाई बा भन्छ । त्यो झुण्डमा स्वतन्त्र चिन्तन भएका पात्र एउटा पनि छैन । ओलीको मक्सद भनेकै जसरी हुन्छ दाउ आफ्नो पक्षमा पार्ने हो । यसविरूद्ध आवाज रोकिनु हुँदैन । विरोधको स्वर मन्द बन्नु हुँदैन ।
ओली सम्पूर्ण रूपमा अधोगतिमा छन् भन्न खोज्नुभएको हो ?
यो कुरा मैले अहिले होइन, उहाँहरू जेलबाट निस्कँदा नै भनेको हुँ । त्यतिबेला केशव स्थापित र केपी ओलीको राजनीतिक चर्चा एकै थियो । स्थापित कार्यकर्ता थिए, केपी ओलीमा नेतागिरी बढी थियो । त्यसपछि त ओलीले आफ्नो जत्था बनाइहाले । मार्गदर्शन, सिद्धान्त र आदर्शभन्दा सत्ताकेन्द्रीत गुट बनाए ।
बिडम्बना भन्नुपर्छ, उनले गृह मन्त्रालयजस्तो राज्यको अंग चलाउन पाए । मदन भण्डारीको मृत्युपछि मदन भण्डारी फाउण्डेसन बनाए । उनलाई विदेशी सहायता पनि मिल्दै गयो । यसरी आजको घटनासम्म आइपुग्न लामो तयारी गरे ।
एउटै पार्टीमा रहेका केपी ओली र तपाईको व्यक्तिगत सम्बन्ध कस्तो छ ?
म व्यक्तिगत तहमा केपी ओलीको नीजि चरित्रको भत्र्सना गर्न चाहन्नँ । एउटै आन्दोलनमा काम गरेको हुनाले चिनजान नहुने त कुरै भएन । नवौं महाधिवेसनपछि भने विशेष रूपमा भेटेको छैन ।
कुनै कार्यक्रम, सम्मेलनमा भेट हुने हो । एउटा भाषणमा उनले ‘नारायण ढकाल स्पष्ट बोल्ने मान्छे हो’ भनेर मेरो तारिफ गर्दै आफू हाकाहाकी बोल्ने मान्छे भएको दाबी गरेका थिए । पहिले जस्तो सँगै बस्ने, कुरा गर्ने अवस्था छैन अहिले । उनी स्वार्थ समूहको घेरा बनाएर बसेका छन् ।
एक समय उही पार्टी बचाउ अभियानमा पनि लागे । तर, जनतामा अधिकार पुर्याउने नभई आफैंभित्र भागबण्डा गर्ने राजनीति गरेका रहेछन् । जनता र नेतृत्वबीच अन्तरविरोध बढाउने खेल खेलेका रहेछन् ।
मलाई केही लिनुदिनु छैन । यसैले उनीविरुद्ध बोल्न डर छैन । यहाँ संविधान च्यातिएको छ, दिउँसै डकैति भएको छ । यस्तो शासक भएको ठाउँमा त बस्न पनि ग्लानी हुन्छ ।
यस्तो जटिल राजनीतिक परिस्थितिमा लेखक-साहित्यकारको भूमिका के हुन्छ ?
साहित्यकारको मुख्य भूमिका लेख्नु हो । मुलुकलाई संकट परेको बेला लेख्न छोडेर संघर्षको मोर्चामा आउनुपर्छ । यस्ता धेरै उदाहरण छन् । लेखक उराल फक्स, कवि गार्सिया लोर्का लेख्दै, संघर्षको मैदानमा होमिँदै आए । हाम्रोमा पनि सबै लेखक त नआउलान्, प्रगतिशील लेखक(साहित्यकार भने आउनैपर्छ ।
अहिलेको नागरिक समाजको आन्दोलनमा तपाईं पनि हुनुहन्छ ?
नागरिक समाजले संकट आएपछि मात्र कराउने होइन, लोकतन्त्र र लोकतान्त्रिक अङ्गहरू बिग्रिरहँदा पनि बोल्नुपर्छ ।
आजको नागरिक समाजको आवाजलाई समर्थन गर्दैगर्दा पनि बामपन्थी आन्दोलनप्रति मेरो धुँवादार समर्थन छ । म त्यही आन्दोलनको जगबाट आएको हुँ । यसैले म बोलेर, लेखेर विरोध गरिरहेको छु ।
नागरिक समाजले गरेको काममा पनि मेरो समर्थन छ । त्यसमा आबद्ध भएकाहरू निष्पक्ष, प्रतिबद्ध हुनुपर्छ । उनीहरू झन् बलियो नभए विरोधको आवाजलाई दबाईन्छ ।
राजनीति गर्नेहरु प्रशंशकको भिड खोज्छ, लेखक आलोचकको । मलाई निर्वाचन जित्नु छैन, त्यसैले भोट घट्ला भन्ने पीर छैन । यही कारण सधैंंभरि बागी विद्वानहरुलाई सघाउन चाहन्छु ।
प्रतिगमनको सवालमा लेखक-साहित्यकारकै पक्ष(विपक्ष धार देखिएको छ नि !
हाम्रो देशमा अधिकांश लेखक इमानदार छैनन् । सरकारी नियुक्ति खाएका, आशामा रहेका साहित्यकारहरु ओलीको पक्षमा होलान् । प्रज्ञा प्रतिष्ठानमा गएकाहरू त राम्ररी लेख्नै नजान्ने छन्, तिनको समर्थनले केही हुँदैन । तिनले त खुलेर केपी ओली जिन्दावाद भन्न पनि सकेका छैनन् । उनीहरु चुनावको कुरा बेठीक होइन भन्दै बसिरहेका छन् ।
बहुसंख्यक लेखक-साहित्यकार संसद विघटनको विपक्षमा छन् । उनीहरू सम्पूर्णतः यो प्रतिगमनको विरोधमा छन् ।
यस्तोबेला राजनीतिमै सक्रिय साहित्यकारहरूको बढी दायित्व हुने होइन र ?
दायित्व भनेकै विरोध हो । फेरी, लेखकहरुको त्यस्तो भयानक शक्ति पनि हुँदैन । राजनीतिक कदम सच्चिन राजनीतिक क्षेत्रबाटै बढी काम गर्नुपर्ने हुन्छ । तर, हाम्रा राजनीतिक दलहरू लोकतन्त्रवादी होइन, दलतन्त्रवादी बनिरहेका छन् । दलहरू भित्रै पनि प्रतिगमन
छ ।
यसैले हाम्रो राजनीतिभित्रको धेरै कुरा सच्चिनुपर्छ । यसका लागि लेखकहरूले नैतिकता बचाएर, आफनो उन्मुक्त मतिष्क चलाउँदै, बोल्दै जानुपर्छ । धैर्यतापूर्वक विरोधको स्वर उराल्नपर्छ । नयाँ व्यवस्थाको लागि पहल गर्नुपर्छ ।
तपाईंको दृष्टिमा आगामी राजनीतिक परिदृष्य कस्तो होला ?
संसद पुनर्स्थापना भयो भने पनि हुने त संसदीय खेल नै हो । भएन भने दलहरू निर्वाचनमा जान्छन् । यसमा अदालतको निर्णय त छँदै छ ।
अबको आवश्यकता भनेको चाही राजनीतिक पुनर्संरचनाको हो । वैकल्पिक शक्ति आउन अँधेरो समय छ । ‘तमसोमा ज्योर्तिगमय’ भनेझैं उज्यालो खोज्दै हिँड्नुको विकल्प छैन ।
ओलीले भनेझैं वैशाखमा चुनाव हुन्छ त ?
उनले चुनाव गर्नका लागि होइन, संविधान च्यात्नका लागि यो घोषणा गरेका हुन् । भइहाले पनि संविधान नै हाकाहाकी च्यात्नेले निस्पक्ष चुनाव गराउँछ भन्ने के भर ! धाँधलीको बाटो समात्दैन भने आधार के ?
ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालका प्रधान्मन्त्रीकै नेतृत्वमा भष्ट्राचार भएको कुरा बाहिर ल्याएको छ । ओलीले राज्यका सबै अंगलाई कब्जामा लिएका छन् । त्यसको लाभमा मोटो रकम पनि जम्मा गरेका होलान् ।
एउटा लेखक र राजनीतिक चिन्तकको हिसाबले आम नेपालीलाई के भन्न चाहनुहुन्छ ?
पहिलो कुरा, म अरूलाई सम्बोधन गर्ने हैसियतमा छैन । आफैंलाई भने नैतिक धरातलमा उभिरहन सचेत पार्छु । आफू जोगिरहन सक्नुपर्छ । म आफैंलाई आह्वानन गर्छु तेरो नैतिकतकामा कसैले प्रश्न उठाउन नसकोस् ।
समाज र राष्ट्रको हितमा केही गर्न सकौं । त्यसबाहेक असत्य र खराबको विरोधमा उभिरहन, यो प्रतिगमनको विरोध गरिरहन सधैं प्रतिबद्ध छु ।