प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय ‘त्रुटिपूर्ण’

२ माघ, काठमाण्डौ । प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय ‘त्रुटिपूर्ण’ रहेको पाइएको छ । पुस ५ मा बसेको मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेको थिया । तर, सो निर्णयमा संविधानको धारा र दफा उल्लेख छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दाको मुख्य आधार हो, मन्त्रिपरिषद्को निर्णय । तर, सो निर्णयमा संविधानको धारा र दफा नै छुट्नु त्रुटिपूर्ण रहेको जानकारहरु बताउँछन् ।

मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपीमा संविधानको धारा र दफा उल्लेख गरिएको छैन् । संसद विघटनको सिफारिसको मुख्य कारणमा ‘एउटै दलको दुई तिहाई बहुमत र त्यस्तो बहुमतको सरकार आवश्यक भएको’ मन्त्रिपरिषद्को बैठकको निचोड छ । सो निचोडका आधारमा मन्त्रिपरिषद्ले विघटनको सिफारिस गरेको देखिन्छ ।

तर, राष्ट्रपति भण्डारीले चाहिँ विघटनको निर्णय गर्दा धारा र दफा उल्लेख गरेकी छिन् । राष्ट्रपतिले संविधानको धारा धारा ७६ (१) (७) र ८५ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘संविधानको धारा र दफा उल्लेख नगरी मन्त्रिपरषद्ले विघटनको सिफारिस गरेको हुनाले सो निर्णय त्रुटिपुर्ण छ,’ पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ भन्छन्–‘जुन निर्णयको आधारमा विघटन गरियो त्यो निर्णय कानुन सम्मत हुन सक्दैन् ।

सिफारिसको निर्णय गर्दा धारा, दफा नखुलाए पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रमा चाहिँ धारा, दफा उल्लेख गरिएको छ । पुस ५ मा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रको शुरुमा धारा दफा उल्लेख गरेर मन्त्रिपरिषद्को निर्णयको बुँदा राखिएको देखिन्छ ।