चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठ्यो

२ माघ, काठमाण्डौ । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ ।

संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन् । रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन् ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेको सुन्नमा आएको भन्दै भन्दै उनले अघि भनिन्, ‘न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?’

उनी बोल्दाबोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस्, भयो भयो अब नकराउनुस् भन्दै रोकेका थिए । तर श्रेष्ठ बोलिरहिन् । उनले अघि भनिन्, ‘यो आचार संहिता विपरित हो । जनताले न्यायाधीशहरुमाथि प्रश्न उठाओस् ।’