इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर) मा आजदेखि आवेदन खुल्ला

२ माघ, काठमाण्डौ । इन्फास्ट्रक्चर बैंकको आइपिओ (प्राथमिक सेयर)मा आजदेखि आवेदन खुलेको छ ।

कम्पनीको आइपिओमा ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओ निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छ ।

बैंकले अंकित मूल्य १ सयका दरले ८ करोड कित्ता सेयर जारी गर्न लागेको हो । सोमध्ये कर्मचारीका लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषका लागि ४० लाख कित्ता छुट्याइएको छ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ ।

बैंकले जारी गर्ने प्राथमिक सेयर अहिलेसम्मकै ठूलो परिमाणको हो । चुक्ता पुँजी २० अर्ब रहेको बैंकले ४० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कति कित्ताका लागि दिने आवेदन ?
आवेदन भर्दा कम्तिमा १० कित्ता र त्यसभन्दा माथि दिनुपरेमा १० ले गुणा जाने २०, ३०, ४०… अंकमा मात्रै दिनुपर्दछ ।

यो कम्पनीको सेयर सबैलाई बाँडफाँड गर्न पुग्नेछ । चन्द्रागिरि हिल्समा जति नै आवेदन संख्या परेमा सबैलाई कम्तिमा ६० कित्ता सेयर बाँडफाँड गर्न पुग्नेछ ।

तसर्थ यो कम्पनीमा कम्तिमा ६० कित्ताका लागि आवेदन दिँदा उपयुक्त हुन्छ । ६० कित्ताको लागि आवेदन दिँदा ६ हजार रुपैयाँ बैंक खातामै ब्लक रहन्छ ।

कतिपयले ५० कित्ता वा सोभन्दा कम कित्ताका लागि पनि आवेदन दिएका हुन सक्छन् । तसर्थ बढीमा ७० कित्तासम्म सेयर पर्न सक्ने हुनाले ७० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ ।

कसरी दिने आवेदन ?

घरमै बसेर अनलाइनबाट प्राथमिक सेयरका लागि आवेदन दिन सकिनेछ । सिडिएससीको मेरो सेयर क्लिक गरी आवेदन दिन सकिन्छ ।

मेरो सेयरमा गई डिपोजिटरी पार्टिसिपेन्टमा आफ्नो डिम्याट खाता भएको कम्पनी छान्नुपर्छ । त्यसपछि युजरनेम र पासवर्ड टाइप गरेर लगइन गर्नुपर्छ ।

यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा आफ्नो बैंक खाता भएको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ । तर आवेदन दिँदा डिम्याट खाता भने जरुरत पर्दछ ।

कस्तो छ कम्पनी ?

यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो ।

यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ । त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ । संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ ।

आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ ।

पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ । कम्पनीले सो अवधिमा १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले स्रोत संकलन गर्दा कम्तीमा ५ वर्षका लागि हुनेगरी व्यक्तिगततर्फबाट न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फबाट न्यूनतम ५ करोड रुपैयाँ निक्षेपका रुपमा स्वीकार गर्दछ ।

संस्थागत निक्षेपकर्तालाई ६.५ देखि ६.६ प्रतिशतसम्मको ब्याज दिन्छ भने व्यक्तिगतलाई ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्दछ । निक्षेपकर्तालाई दिने ब्याज र आयोजना ऋणीबाट लिने ब्याजको अन्तर नै कम्पनीको मुख्य आम्दानी हो ।

आब ०७९र८० सम्म प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ पुग्ने कम्पनीको आँकलन छ । सो अवधिसम्म वार्षिक आम्दानी १ अर्ब ५९ करोड हुने र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८० पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ ।

इक्रा नेपालले कम्पनीको आइपिओलाई एनपी आईआर ट्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी मध्यमस्तरको रहेको
जनाउँछ ।

४० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको यो कम्पनीमा बाँकी ६० प्रतिशत स्वामित्व नेपाल सरकार, व्यवसायिक घराना र विभिन्न बैंक तथा वित्तीय संस्थाको
छ ।