आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार रुपैयाँ घुस सहित पक्राउ

२९ पुस, काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।

कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिनेरदिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।