स्याल बनेर पार्टी र देशलाई ध्वस्त पार्न ध्येयले अघि बढ्ने योजना बुनेकाले ओलीलाई कारवाही गरिएको हो

नेकपा, अध्यक्ष माधव कुमार नेपाल

२६ पुस, जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी संगठनभित्र खेलेर स्याल बन्ने दाउमा लागि परेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफ्नै पार्टी भित्रका शीर्ष नेतालाई प्रधानमन्त्री र अध्यक्षको ललिपप देखाउँदै भाडभैलो गर्नका लागि स्याल हुइयाँ गर्दै चलाखी दाउ मार्ने योजना असफल पारिदिएको दावी गरे ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि दुई चिरामा विभाजित भएका नेकपा प्रचण्ड–माधव पक्षले वडा, पालिका देखि प्रदेशसम्म गठन गरेका संघर्ष समितिका संयोजक, सहसंयोजक तथा जिल्ला एवं प्रदेशका नेता तथा कार्यकर्तासंग भेटघाट गरेका छन् ।

सो क्रममा अध्यक्ष नेपालले भने, ’नेकपाको संस्थापक पक्ष हामीहरु नै आधिकारिक रहेको र हामीसंग करिब ७५ प्रतिशत केन्द्र देखि तल्लो कमिटीसम्मका पार्टी कमिटी हामीसँगै छ । त्यसैले हामी नै आधिकारिक नेकपा हौँ र हामीसँग नै सूर्य चिन्ह रहेको छ । ’

कुनै पनि किसिमको गलत फेहमी र भ्रममा नपर्न आग्रह समेत गरे । उनले ओलीलाई तर्फ ईंगित गर्दै भने, ’स्याल बनेर पार्टी र देशलाई ध्वस्त पार्न ध्येयले अघि बढ्ने योजना बुनिरहेको कुरा अर्का अध्यक्ष प्रचण्ड, म, झलनाथजी, सुरेन्द्र पाण्डेजी, रघुजी पन्त लगायतका शीर्षनेताहरु थाहा पाएपछि हामीले वहाँलाई कारवाही गरिसकेका छौँ, र अहिले नेकपाको अध्यक्ष प्रचण्ड र म नै हुँ । ’

यसमा कुनै पनि किसिमको भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई स्पष्ट समेत पारे । ओलीलाई कारवाही गरेपछि उनी अहिले छोटाका गुटका अध्यक्ष मात्र रहेको उनले बताए ।

उनले भने, ’ओली गुटसँगको पार्टीको कुनै पनि प्रमाण छैन । त्यसैले सयौँ केन्द्रीय सदस्यहरु अहिले भर्ति अभियान डम्रु पिटेर भजाईरहेको भ्रम छरिरहेका छन् ।’ तत्कालीन एमाले र माओवादी केन्द्रसँग एकता बनेपछि पूर्व एमालेको नाम भजाएर ओलीले वितण्डा मचाउनुको कुनै तुक नरहेको उनले स्पष्ट पारे ।

उनले ओलीले अहिले सरकारको ढुकुटीमा अराजकता मचाएर मुलुकलाई बर्बाद पार्ने दिशामा अग्रसर छन् । ओलीले सत्ता र सरकारको दुरुपयोग गरि भ्रम छरेर जनतालाई दिग्भ्रमित पारिरहेको आरोप समेत उनले लगाए ।

उनले भने,’ जुन पार्टीले एकतापछि अध्यक्ष बनाए, प्रधानमन्त्री समेत बनाए अहिले त्यही पार्टी विरुद्ध भष्मासुर बनेर पार्टीको नेतृत्वपंक्ति विरुद्ध कम्मर कसेर लागेकाले आन्दोलनको विकल्प हामीसंग केहि नरहेकाले आन्दोलनको लागि तयारीवस्थामा रहनुस् । उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने, विध्वंसकारी विरुद्ध आन्दोलनका लागि अघि बढ्नुस् ।’

पार्टी राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र बिधानले चल्नुपर्छ र सो अनुसार नचलेकाले पार्टीले ओलीलाई कारवाही गरेको दावी समेत गरे ।

नेकपा धनुषाका ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य श्रवण यादव बरबरियाको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाटमा केन्द्रिय सदस्यहरु श्रीप्रसाद साह, रत्नेश्वरलाल गोइत, सुधिर साह, नागेन्द्र चौधरी लगायतका नेताहरुको समेत थिए ।