कर्णाली प्रदेश सरकारमा ओली समूहको प्रतिनिधित्व शून्य

२३ पुस, सुर्खेत । दुई धारमा देखिएको नेपाल कम्यृनिष्ट पार्टी (नेकपा) केन्द्र देखि प्रदेश हुँदै गाउँ कमिटी सम्म नै विभाजनको रेखा कोरिसकेको छ । अहिले भटाभट केन्द्र र प्रदेशमा एकले अर्कालाई कारवाही र हटाउने खेलसँगै कर्णाली प्रदेशमा भने प्रधानमन्त्री ओली पक्ष भन्दा प्रचण्ड–माधव पक्षले पकड जमाएको छ ।

हाल कर्णाली प्रदेशसभाका कुल ४० सदस्यमध्ये नेकपाका ३३ जना सांसद छन् । ३३ सांसदमध्ये यस अघि ‘प्रचण्ड—माधव’ पक्षमा १९ जना र ओली पक्षमा १४ जना थिए ।

हालै मात्र ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकायाले खेमा परिवर्तन गरेर ओली पक्षलाई छोडी प्रचण्ड–माधव पक्षमा सामेल भएपछि प्रचण्ड माधव पक्षमा २२ जना सांसद पुगेका छन् । यो सँगै मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको प्रदेश सरकारको स्थायित्वका लागि प्रदेशसभामा आवश्यक बहुमत पनि पुगेको छ ।

त्यस्तै संघीय प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने छक्कबहादुर लामाले केहीदिन अघि खेमा परिवर्तन गरेका थिए ।
त्यसैले तत्कालका लागि कर्णाली प्रदेश सरकारमा ओली समूहको प्रतिनिधित्व शून्य नै देखिएको छ ।