कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई चीनद्धारा रोक

एजेन्सी

२२ पुस, काठमाण्डौ । चीनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ ।

डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको जनाउँदै चीनले प्रवेशमा रोक लगाएको द गार्डियनले जनाएको छ। तर केही सदस्यहरू चीनका लागि उडिसकेका छन् ।

डब्लुएचओ महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले संगठनको टोलीलाई प्रवेश गराउन चिनियाँ अधिकारीहरूसँग सम्पर्क गरिसकेको बताएका छन् ।

यो समाचारबाट म एकदमै निराश छु, दुई जना सदस्यले आफ्नो यात्रा सुरू गरिसकेका छन् र अन्तिम समयमा अरूले भ्रमण गर्न पाएनन्,’ उनले भने, ’तर म चिनियाँ उच्च अधिकारीहरूको सम्पर्कमा छु । र फेरि एकचोटि यो मिसन डब्लुएचओ र अन्तर्राष्ट्रिय टिमका लागि महत्वपूर्ण रहेको प्रष्ट पारेको छु ।

संगठनले विभिन्न राष्ट्रका विज्ञ भएको टोलीलाई केही महिनाका लागि वुहानमा अध्ययन गर्न पठाउने योजना बनाएको थियो । यसका लागि उसले गत जुलाईदेखि नै चिनियाँ अधिकारीहरूसँग कुरा गर्न थालेको थियो ।

वैज्ञानिकहरूले यो भाइरसको उत्पत्ति कसरी भयो र मानिसमा कसरी स¥यो भन्ने जान्न जरूरी रहेको बताउँदै आएका छन् ।

डब्लुएचओको टोली वुहानमा सुरूमा देखिएका संक्रमणबारे अध्ययन गर्न जान लागेको हो । भाइरसको उत्पत्ति चीनको ल्याबमा वैज्ञानिकहरूले बनाएको भन्ने दाबीबारे जाँच गर्न सो टोली नगएको बताइएको छ ।