अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टी बहुमत नजिक

एजेन्सी

२२ पुस, काठमाण्डौ । डेमोक्र्याटिक पार्टी अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि बहुमत नजिक पुगेको छ ।

मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुनः निर्वाचन डेमोक्र्याटिक उम्मेदवार राफायल वार्नक विजयी भएका छन् । जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन् ।

उनको यो विजयसँगै सिनेटमा डेमोक्र्याटिक पार्टीका सिनेटरको संख्या ४९ पुगेको छ। जर्जियाकै अर्को सिनेटरमा पनि डेमोक्र्याटिक उम्मेदवार जोन ओसफ जितनजिक छन् ।

९८ प्रतिशत मत गणना हुँदा उनी प्रतिष्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार डेभिड पेरडेउभन्दा १३ हजार बढी मतले अघि छन् ।

ओसफले पनि जित निकालेमा डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्नेछन् ।

सिनेटमा दुबै पक्षको ५०(५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ । उपराष्ट्रपति सिनेटको सभापतिको भूमिका हुन्छन् ।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन् ।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको हो। जर्जियाको कानुनअनुसार सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्छ ।

रिपब्लिन पार्टीका दुबै उम्मेदवार बहालावाल सिनेटर हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएर आफूले हारेको बताउँदै आएका
छन् ।

दक्षिणी राज्य जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारले जितेका हुन् ।

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दै छन् । जलवायू परिवर्तन, आप्रवासी आगमन र पूर्वाधार निर्माणमा बाइडेनले ट्रम्प प्रशासनभन्दा फरक तरिकाले काम गर्ने बताएका छन् ।

उनले जलवायू परिवर्तनको असर वास्तविक भएको र अमेरिकी आप्रवासीका लागि खुला हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले नोभेम्बरको चुनावबाट यसअघिको बहुमतलाई कायम राखेको थियो । यद्यपी उसको सिट भने अघिल्लो पटक भन्दा यसपालि घटेको छ ।