कामचलाउको हैसियत बनिसकेको सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी

२२ पुस, काठमाण्डौ । कामचलाउको हैसियत बनिसकेको सरकार र देशभित्र संवैधानिक संकट उत्पन्न भएका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको तयारी थालिएको छ । ज्ञवाली माघ १ गते दिल्ली जाने र भोलिपल्टै स्वदेश फर्कने तयारी छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा अध्यक्षता गर्ने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । यसका अतिरिक्त उनले विभिन्न राजनीतिक भेटघाट समेत गर्नेछन् ।

दुवै देशका बीचमा रहेका समग्र विषय, द्विपक्षीय परियोजना र अन्य विषयमा छलफल गरी समाधानको गाँठो फुकाउने म्यान्डेट संयुक्त आयोगलाई छ ।

यस अगाडि दुईपटक भ्रमणको मिति तय भए पनि नेपालको आन्तरिक राजनीतिक अवस्थाका कारण भ्रमण हुन सकेको थिएन ।