प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह

बाबुराम भट्टराई अध्यक्ष, जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद्

२२ पुस, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।

‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रमणको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो,’ भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे, ‘केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु) ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।

भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिए । ‘केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’, उनले भने । पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई तेस्रो आरोप पनि लगाएका छन् । उनले ओलीलाई बाह्य शक्तिको मतियार भएको बताए । ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो’, उनले आफ्नो अभिव्यक्ति गलत सावित भएको देख्न चाहने बताए ।

तर, बाह्य शक्ति पनि नेपालकै आन्तरिक कमजोरीका कारण निम्तिएको उनको भनाइ थियो । ‘हाम्रै गल्ती र कमजोरीमा विदेशीले खेल्ने हो । मार्क्सवादीहरुले विनाशको कारण आन्तरिक हुन्छ भन्छ । मुख्य कमजोरी तपाईं हाम्रै हो’, भट्टराईले भने ।

भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने बताए । तर, त्यसका लागि केपी ओलीलाई प्रचण्ड–माधव समूहले कमिटीबाट ननिकालेको आशंका भएको उनले
बताए । ‘बीचमै अलपत्र पार्ने त होइन भन्ने काँग्रेस र हामीसँग आशंका छ, चाँडो प्रष्ट हुनुहोस्’, भट्टराईले भने ।

तर, अहिले राष्ट्रियता र संविधान खतरामा परेकाले संघर्षका लागि जनतासँग आग्रह गरे । ‘हामी सबै मिलेर प्रतिगमनको बाटो विरुद्ध लडौं’ भट्टराईले भने, ‘अदालतसँग आशा गरौं, भरोसा नगरौं । जनतामा विश्वास गरौं, यो संविधान जनताले बनाएको हो ।’ अदालतले न्यायको नौं सिङ्ग प्रयोग गर्न सक्छ, तर हामीले सभामुखलाई भनेर संसद जीवितै राख्ने राजनीतिक सहमति छ, उनले बताए ।

यो संविधानमा त्रुटि भएपनि प्राप्त उपलब्धी समेत गुम्न नदिन संसद विघटनको निर्णय विरुद्ध संघर्षमा होमिएको भट्टराईले बताए ।