प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ

२१ पुस, काठमाण्डौ । प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ परेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका(४ कमलपोखरीबाट एक पुरूषलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए ।

ती पुरूषले प्रहरीको कन्ट्रोल नम्बरमा फोन गरी भनेको कुरा एसपी महर्जनले उदृत गर्दै भने,’म ठूलो क्राइम गर्छु अनि पछि आफैंलाई पनि सिध्याउँछु ।’

पक्राउ पर्नेमा काभ्रे घर भई ललितपुरको कमलपोखरी बस्ने ३८ वर्षीय पुरूष छन् ।

फोन आएपछि महानगरीय प्रहरी प्रभागबाट खटिएको इन्स्पेक्टर विजय तिमिल्सिनाको टोलीले उनलाई कमलपोखरीबाटै पक्राउ गरेको हो ।

’हामीलाई खबर आउनबित्तिकै प्रभागबाट प्रहरी खटिएर ४० मिनेट भित्रमा उनलाई पक्राउ गरेको हो,’एसपी महर्जनले भने,’परिसरबाट प्राविधिक सहयोग ग¥यौं ।

ती पुरूषले कन्ट्रोलमा साँझ सवा ४ बजे फोन गरेका थिए । उनलाई प्रहरीको टोलीले पौने ५ बजे सम्ममा पक्राउ गरिसकेको छ ।

अहिले उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा राखिएको छ ।

’उनी घर बनाउने ठेकेदार हुन् । आर्थिक समस्या रहेछ,’एसपी महर्जनले भने,’आज रक्सी खाएको तालमा त्यस्तो गरेको रहेछ ।’

प्रहरी स्रोतका अनुसार उनको अर्का ठेकेदार र घरबेटीबीच विवाद भएको थियो । विवाद भएपछि रिसमा उनले हत्या गर्ने र आफैं पनि आत्महत्या गर्ने भन्दै फोन गरेका थिए ।

उनलाई लूभूको एक घर बनाउने ठेक्का परेको थियो । सो ठेक्काको काम उनले समयमै सकाउन नसकेको परिसर प्रहरी स्रोतले बताए ।

’घर बनाउने काम समयमा सकाउन नसकेपछि घरबेटीले अर्को ठेकेदारलाई काम दियो,’उनले भने,’त्यसपछि उसले मापसे गरी रिसमा घरबेटी र ठेकेदारलाई मार्छु भनेछन् ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।