बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन वातावरण विभागको अनुरोध

२१ पुस, काठमाण्डौ । उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेको
छ ।

विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ ।

विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ । भनिएको छ, वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।