कुन बैंकले कति प्रतिशत कर्जा बढाए

२० पुस, काठमाण्डौ । आजभन्दा ठीक दुई वर्षअघि वाणिज्य बैंकहरूले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज तोकेर निक्षेप खोसाखोस गर्थे। त्यतिबेला कर्जाको माग धेरै थियो भने स्रोत अभाव थियो ।

अहिले अवस्था फेरिएको छ, सीमित अफरबाहेक एक वर्षभन्दा कमको मुद्दती निक्षेपमा अधिकतम ब्याज नै साढे ७ प्रतिशतमा झरेको छ । किनभने अहिले स्रोत बढी छ, कर्जाको माग न्यून ।

यहाँसम्म कि केही बैंकहरू मुद्दती निक्षेप नै संकलन नहोस् भन्ने चाहन्छन् ।

यसको ज्वलन्त उदाहरण हो– एसबिआई बैंक । बैंकले मुद्दती खातामा दिने ब्याज ४ प्रतिशत तोकेको छ । जबकि धेरै बैंकले बचतमै सो ब्याज दिन्छन् । सो ब्याज हाल कायम मुद्रास्फितिभन्दा पनि कम हो ।

कहिले अभाव त कहिले अधिक तरलता दुवै बैंकको व्यवसाय विस्तारका लागि बाधक बन्ने गरेको छ ।

तोकिएको अनुपात कायम राख्दै संकलित निक्षेपबाट कर्जा प्रवाह गर्नु बैंकहरूको मुख्य बिजनेस हो । निक्षेपकर्तालाई दिएको ब्याज र ऋणीबाट लिने ब्याजको अन्तर नै बैंकहरूको मुख्य आम्दानीको स्रोत हो ।

यतिबेला निक्षेपकर्ता होइन, ऋणी नै खोसाखोस हुन थालेका छन् । केही सस्तो ब्याजको अफर दिएर ऋण सार्न बैंकहरू लागेका छन् ।

कोरोना महामारीका बेला गरिएको लकडाउनका कारण करिब ४ महिनासम्म बैंकहरूबाट जाने नयाँ कर्जा ठप्पप्रायः रह्यो । अहिले अधिक तरलताका कारण कतिपय बैंकको ब्याज लागत नै बढेको छ । निक्षेपकर्तालाई ब्याज दिइरहनुपर्ने, तर सो रकम बैंकमा निष्क्रिय रहँदा लागत बढ्न जान्छ ।

लकडाउन खुलेपछि बैंकहरू ऋण विस्तारका लागि आक्रामक देखिएका छन्। कोरोना महामारीका वावजुद एक वर्षमा बैंकहरूको ऋण प्रवाह १५.८ प्रतिशत बढेको छ ।

कात्तिक मसान्तसम्म २७ वाणिज्य बैंकहरूले ३६ खर्ब ४८ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकाछन् । गत वर्ष कात्तिक मसान्तसम्म २६ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका थिए ।

क्रमिक रूपमा अहिले ऋण माग समेत बढ्दै गएको देखिन्छ ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्ला तीन साता मात्रै कर्जा प्रवाह ५६ अर्ब बढेको छ, जबकि सो अवधिमा निक्षेप जम्मा ४४ अर्ब बढेको छ । पछिल्लो समय माग आउन थालेकाले क्रमिक रूपमा ऋण विस्तार बढ्दै जाने बैंकर्सको अनुमान छ ।

‘लकडाउनको प्रभावले बन्द रहेका वा न्यून क्षमतामा चलेका उद्योग तथा व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेसँगै ऋणको माग बढेको हो,’ एनएमबी बैंकका सिइओ सुनिल केसीले सेतोपाटीसँग भने ।

अर्कोतर्फ नयाँ व्यवसायमा पनि ऋणको माग आउन थालेको उनले बताए । आयात बढ्दै जाँदा ‘ट्रष्ट रिसिप्ट लोन’ समेत बढ्न थालेको छ ।

व्यवसायीले सामान आयात गर्दा सोको रकम बैंकहरूले तिरिदिने र ऋणीले सामान बिक्री गर्दै क्रमिक रूपमा बैंकको ऋण तिर्दै जानेगरी दुवै पक्षबीच हुने एक सम्झौता नै ट्रष्ट रिसिप्ट हो। आयात नहुँदा यस्तो ऋण प्रवाह हुन सकेको थिएन ।

संकलित निक्षेप र मूल पुँजीबाट ८५ प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । तर अहिले औसतमा ७३ प्रतिशत मात्रै प्रवाह भएको छ ।

कात्तिक मसान्तसम्म बैंकहरूको कर्जा प्रवाह हेर्दा स्ट्यान्डर्ड चार्टड र एभरेष्ट बैंकको व्यवसाय सुस्ताएको छ । एसबिआईको कर्जा प्रवाह भने घटेको छ ।

मर्ज तथा एक्वीजिसनको प्रभावले केही बैंकको कर्जा प्रवाह उच्च दरले बढेको देखिन्छ । मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गरेकाले उसको कर्जा वृद्धि सबभन्दा धेरै ६४ प्रतिशत देखिएको छ ।

प्राइम कमर्सियलले कैलाश विकास बैंकलाई प्राप्ती गरेकाले उसको कर्जा प्रवाह ४० प्रतिशतले बढेको छ भने कुमारीले देव विकास बैंकलाई प्राप्ती गरेकाले कर्जा प्रवाह करिब ४७ प्रतिशतले बढेको छ ।

एनआइसी एसिया बैंक व्यवसाय विस्तारका लागि आक्रामक देखिएको छ । बैंकको कर्जा प्रवाह ३१ प्रतिशतले बढेको छ ।

सो बैंकले कात्तिक मसान्तसम्म सबैभन्दा धेरै २ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।