स्पस्टीकरण नबुझाए राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानबमोजिम कारवाही गरिने ओली समूहको धम्की

१३ मंसिर, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने सांसद्लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टी विभाजपछि प्रचण्ड– माधव पक्षका ३७ सांसद्ले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

नेकपाका प्रमुख सचतेक तथा ओली पक्षका नेता बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

दलका प्रमुख सचेतक राजभण्डारीले सांसद्हरूलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशनसहितको पत्र पठाएका हुन् ।

संसदीय दलमा छलफल नगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । स्पस्टीकरण नबुझाए राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानबमोजिम कारवाही गरिने उनले बताए ।