म अदालतबाट न्यायको अपेक्षा गर्छु, अदालतले न्याय देओस् श्रीमान

कांग्रेस युवा नेता, गगनकुमार थापा

१३ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसद विघटनबारे अदालतमा बहस भइरहँदा कांग्रेसले सडकमा आएर न्याय माग्नुपर्ने बताएका छन् ।

पार्टीकै कतिपय नेताले अदालतमा विचाराधीन मुद्धामा बोल्न मिल्छ कि मिल्दैन भनेको भन्दै उनले अदालतमै उभिएर बीपी कोइरालाले ‘अदालत परिसरभित्र न्यायको हत्या नहोस’ भनेको स्मरण गराए । राजाको शासन भएको बेलामा त्यस्तो भन्ने बीपीका कार्यकर्ता अहिले टुलुटुलु हेरेर बस्न नमिल्ने थापाको भनाइ छ ।

संसद विघटनको विरोधमा नेपालगञ्जमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै थापाले भने, ‘जुन दिन अदालतमा संसद विघटनको मुद्दामा छलफल हुन्छ । त्यो कांग्रेसले सडकमा आएर न्यायमूर्तिहरुलाई शान्तिपूर्ण रुपमा भन्ने हिम्मत गर्नुपर्छ, हाम्रो तपाईहरुप्रति ठूलो विश्वास छ । हाम्रो सम्मान छ, आस्था छ । त्यसैले हामी तपाईहरुतर्फ आशारभरोसाको नजरले हेरिरहेका छौं श्रीमान ।’

उनले अघि भने, ‘श्रीमानहरुले पनि दाँया नहेरिबक्स्योस्, बायाँ नहेरिबक्स्योस्, उत्तरतिर पनि नहेरिबक्स्योस्, दक्षिततिर पनि नहेरिबक्स्योस् । पर्दा पछाडि के भइरहेको छ, त्यो पनि नहेरिबक्स्योस्, खासखुस पनि नगरिबक्स्योस् । केवल तपाईले कसम खाएको संविधान पल्टाएर हेरिबक्स्योस् र न्याय बक्सियोस् ।’

संविधान बनाउँदै गर्दा तत्कालीन माओवादीले अदालतलाई निर्वाचित प्रधानमन्त्रीको मातहतमा राख्नुपर्छ भन्ने प्रस्ताव गरेको र त्यतिबेला कांग्रेसले अदालतको स्वतन्त्रताका लागि लडेको उनले बताए । ‘त्यसैले अदालतमाथि पनि हाम्रो विश्वास छ’ नेता थापाले भने ।

अदालतको सबैभन्दा ठूलो जिम्मेवारी न्याय दिनु भएको उनले बताए । र, अदालतले विना भय र पक्षपात, विना गोप्य निर्देशन न्याय दिन सक्यो भने मात्र अदालत हुनुको अर्थ हुने उनले बताए । कांग्रेस नेता थापाले भने, म अदालतबाट न्यायको अपेक्षा गर्छु, अदालतले न्याय देओस्
श्रीमान ।’