भक्तपुरमा ट्रक पल्टिदा चालकको मृत्यु

१० मंसिर, भक्तपुर । आज बिहान भक्तपुरमा ट्रक पल्टिदाँ चालकको मृत्यु भएको छ । बिहान करिब २ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८, आदर्श चोक नजिकै ना. ६ ख ३९८२ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त घटनामा ट्रक चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर १२ बस्ने ३० वर्षीय कैमोदिन अन्सारीको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए ।
अरनिको राजमार्ग जगातीबाट सूर्यविनायकतर्फ आउदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना हुदाँ च्यापिएर चालकको मृत्यु भएको प्रहरीको भनाइ छ ।
‘क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा अन्सारीको घटनास्थलमा नै मृत्यु भएको रहेछ,’ डीएसपी गिरीले भने । उक्त ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाईते भएका छन् ।

मृतक अन्सारीको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।