२ मंसिर, काठमाण्डौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् ।
ओलीलाई कारबाही गरेको र आफूहरू नै आधारिक नेकपा भएको व्यहोराको पत्र बोकेर नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल, मुक्ति प्रधानलगायत निर्वाचन आयोग पुगेका छन् । उनीहरू दिउँसो साढे २ बजे निर्वाचन आयोग पुगेका हुन् ।
आयोगमा पुगेर उनीहरूले हिजो भएको पार्टीको निर्णय र हस्ताक्षर बुझाएका छन् ।
आयोगमा पार्टीको निर्णय बुझाएर बाहिरिँदै गर्दा नेकपा र सूर्य चिन्ह आफूहरूको हुने दाबी गरेका छन् ।
सूर्य चिन्ह र पार्टीको नाम नेकपा आफूहरूको हुने नेता पाण्डेले बताए । ‘हामीसँग ७० प्रतिशत मत छ । घर छाडेर जानेले घर पाउँछ र ? अर्को बनाउनुपर्छ,’ पाण्डेले भने, ‘सूर्य चिन्हमा कसैले दाबी नगरे हुन्छ, हामीले पाउछौँ ।’
२ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले सेतोपाटीलाई बताए ।
‘अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य छन् । केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत छैन,’ उनले भने, ’४ सय ३५ को हस्ताक्षरनै वैधानिक हो । केपी ओलीले १५ सय त के २५ हजार लगेर राखे पनि त्यो वैधानिक हुँदैन ।’
नेकपा गठन हुँदा तत्कालिन नेकपा एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो। त्यसपछि एकता प्रक्रियाबाट थपिएका गरी ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी बनेको पोखरेलले बताए ।
राजनीतिक र संवैधानिक नियुक्ति पाएका र मृत्यु भएकाको संख्या घटाउँदा ४ सय ३५ सदस्यीय कमिटि हुने उनले तर्क छ ।
मंगलबार बसेको बैठकले केपी ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । अध्यक्ष नेपाल र दाहालको समान हैसियत हुनेसमेत निर्णय गरेको थियो ।