प्रधानमन्त्रीलाई राज्यविरुद्धको अपराधमा कारवाही गर्नुपर्छ

अधिवक्ता, ओमप्रकाश अर्याल

५ पुस, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले संसद विघटन सिफारिस गरेर संविधानमाथि आक्रमण गरेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्ने बताएका छन् ।

मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीका कारण संविधान क्षतविक्षत भएको, संविधान र राष्ट्र नै असुरक्षित भएको भन्दै उनलाई देशद्रोहको आरोपमा कारबाही गनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले जे कदम उठाउनुभयो, राज्यविरुद्धको अपराध हो, राज्यविरुद्धको अपराध भनेको राजनीतिक आक्षेप मात्र होइन, कानुनी कुरा पनि हो, त्यसैले उहाँलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ’ उनले भने ।

प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय स्वीकृत भए पनि नभए पनि अब प्रधानमन्त्रीलाई देशद्रोहीको रुपमा कारबाही गर्नुपर्ने अधिवक्ता अर्यालको भनाइ छ । ‘अहिले नै करेक्सन भयो भने पनि उहाँलाई राज्यविरुद्धको अपराधमा कारबाही गर्नुपर्छ । यस्ता मान्छेलाई सजाय गरिएन भने भविष्यमा यस्ता मान्छे दोहोरिरहन्छन् नि’ उनले भने ।

प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गर्न नहुने भन्दै उनले स्वीकृत गरेमा राष्ट्रपतिविरुद्ध पनि कानुनी कारबाही गर्नुपर्ने अर्यालले बताए । ‘राष्ट्रपतिले गल्ती गर्नुभयो भने उहाँ पनि कसुरदार बन्नुभयो । उहाँलाई पनि महाभियोग लगाउनुपर्छ । किनभने उहाँको गतिविधि पनि संविधानमाथि आक्रमण गर्ने खालकै छन्’ उनले भने ।