ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेकोले ओलीको बोलीको विश्वास नै छैन्

नेकपा वरिष्ठ नेता, माधवकुमार नेपाल

३ पुस, काठमाडौं । आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाडाँमा प्रदेश १ का आफू निकट नेताहरुको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति नै अरुलाई धोका दिने र अपमान गर्ने रहेकोले ओलीको बोलीको विश्वास नै नहुने बताएका छन् ।

पहिले आफूलाई अपमान गर्ने काम गरेको ओलीले पछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यसै गरेको नेपालको भनाइ थियो । ‘पार्टीका पूर्वप्रमुख र पूर्वप्रधानमन्त्री भइसकेका नेताहरुलाई धोका दिने, अपमान गर्ने प्रवृत्ति अझै पनि रोकिएको छैन । सहमति गरेर उठ्यो, भोलिपल्टै होइन भन्नु नै केपी ओलीको योग्यता बनेको छ’, नेपालको भनाइ थियो ।

सबै नेताहरुलाई पालैपालो धोका दिने, झुटो आश्वासन दिने भएकैले पार्टीभित्र नयाँ समीकरण बनेको उनले बताए । ‘अहिले कस्तो अवस्था बन्यो भने धोका पाउने र अपमानित हुनेहरु एक भएको जस्तो देखिएको छ’, नेपालले भने ।

तर, पार्टीलाई कुनै हालतमा विभाजन हुन नदिने उनको भनाइ थियो । ‘त्यसका लागि हामी माथि लड्छौं । तपाईंहरु तल लड्नु होला’, नेपालले आग्रह गरे । अहिले पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा उठाएर विभाजन गर्ने नियत देखिएकाले यसविरुद्ध लाग्न पनि नेपालको आग्रह गरेका थिए ।