केन्द्रीय कार्यालय पेरिसडाडाँमा जिल्ला अध्यक्ष, सचिव र उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको भेला

३ पुस, काठमाडौं । नेकपा पार्टी को स्थायी कमिटी बैठक चलिरहेको छ भने नेताहरुमा बिबादको भर्याङ्ग ढल्न समेत सकेको छैन । यसै क्रममा प्रचण्ड–माधव नेपाल समूहले आफू निकट प्रदेश १ का नेताहरुको भेला गरेका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाडाँमा जिल्ला अध्यक्ष, सचिव र उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुलाई भेला गरेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पुस १ को स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार संवैधानिक परिषद्को अध्यादेश फिर्ता नलिइएकोमा आपत्ति मात्र जनाएनन्, थप एक्सनको चेतावनी दिएका छन् ।

सम्भवतः पार्टी एकीकरण यता पहिलोपटक ओलीविरुद्ध चेतावनीको भाषामा प्रचण्डले बोलेका छन् । के हो त त्यो एक्सन ? प्रचण्ड निकट एक स्थायी कमिटी नेता भन्छन्, ‘सायद, अनुशासनको विषय हो । स्थायी कमिटी बैठकले गरेको निर्णय कसैले पनि उल्लंघन गर्न मिल्दैन । अझ यो त असंवैधानिक र अराजनीतिक कदम सच्याउने निर्णय हो ।’

सरकारले मंगलबार अध्यक्ष र बहाल रहेको बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यसमा आपत्ति जनाएको प्रचण्ड–माधव नेपाल समूहले संसदको विशेष अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय पु¥याएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भए ।

बुधबार स्थायी कमिटी बैठकले अध्यादेश र हस्ताक्षर दुबै फिर्ता लिने निर्णय ग¥यो । राष्ट्रपति कार्यालय पुगेका नेताहरु फर्किए तर अध्यादेश अझै फिर्ता भएको छैन । उल्टो बिहीबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र ठूलै हलचल ल्यायो । यद्यपि प्रचण्डसहित नेताहरुको आपत्तिपछि प्रधानमन्त्रीले परिषदको बैटक स्थगित गरेका छन् ।

तर यो घटनाले ओली–प्रचण्डबीच अविश्वास बढेको छ । ओली पक्षले भने प्रचण्डले सचिवालयका नेताहरुसँग गठबन्धन गरेको, गुट भेला राखेको र पार्टीलाई विभाजन तर्फ धकेलेको तर्क गर्दै आएको छ । तर, प्रचण्ड पक्ष (प्रचण्ड सहित सचिवालयका पाँच नेता) ले भने भेला तथा छलफल पार्टी विभाजनलाई जोगाउँदै अहिलेको रुपान्तरण तर्फ लैजाने (विभाजन नभएर ओलीलाई सच्याउन दबाब) प्रयास भइरहेको दावी गरेका छन् ।

पेरिसडाडाँको भेलामा पनि वरिष्ठ नेता खनालले आफूहरुको संघर्ष कुनै पदका लागि नभएर पार्टीलाई विधि र पद्धतिमा लैजानु भएको तर्क गरे । ‘कतिपयले पद पाउनु असन्तुष्टि भन्ने टिप्पणी गरेको सुन्छु, तर त्यस्तो होइन । नेकपा विधि र पद्दतिमा हिँडे हाम्रो जित हुनेछ ।