क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै प्रतिबन्ध

एजेन्सी

१ पुष, लन्डन । कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुने थालेपछि युरोपेली देशहरूले कोरोना रोकथामसम्बन्धी प्रतिबन्धहरूलाई थप कडा बनाएका छन् ।

क्रिसमस र नयाँ वर्षमा हुनसक्ने भीडभाडलाई ध्यानमा राख्दै उनीहरूले प्रतिबन्धहरूलाई कडा पारेका हुन् ।

नेदरल्यान्डसले पाँच हप्ताका लागि लकडाउन गरेको छ । यस अवधिमा त्यहाँका अनावश्यक पसल, जिम तथा सिनेमाहलहरू बन्द हुनेछन् ।

त्यस्तै बुधबार जर्मनीले त्यहाँ कीर्तिमानी संख्यामा संक्रमित फेला पर्न थालेपछि कडा लकडाउन गरेको छ । १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ ।

यध्यपी उसले क्रिसमसका बेलामा २४, २५ र २६ डिसेम्बरमा भने लकडाउनलाई केही खुकुलो बनाउनेछ । यो अवधिमा बढीमा चार जना मानिसलाई एकअर्काको घरमा निम्ता गर्न सकिनेछ ।

ब्रिटेनमा पनि बुधबारबाट लकडाउन कडा पारिएको छ ।

यसैगरी फ्रान्सले लकडाउनलाई हटाएपनि रात्रिकालिन कर्फ्यूलाई जारी राख्ने निर्णय गरेको छ ।

जसअनुसार अत्यावश्यकका अवस्थामा बाहेक मानिसहरूलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म बाहिर निस्कन वर्जित गरिएको छ ।

यस्तै क्रिसमसको दिनमा बाहिर निस्कने अनुमति भएपनि नयाँ वर्षको दिनमा भने कर्फ्यूको पालना गर्दै घरभित्र बस्नुपर्नेछ ।

फ्रान्सका बार र रेष्टुरेन्ट २० जनवरीसम्म बन्द रहनेछन् ।

मंगलबार फ्रान्समा कोरोनाका कारण ७ सय ९० जनाको मृत्यु भएको छ । हालसम्म त्यहाँ कोरोनाका कारण ६० हजार मानिसको मृत्यु भइसकेको छ ।

यसैगरी क्रिसमसलाई ध्यानमा राख्दै इटालीले पनि कोरोना सम्बन्धी प्रतिबन्धलाई कडा बनाउने बारेमा विचार गरिरहेको जनाइएको छ ।