डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु

१ पुष, रुकुम । डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

डिएसपी सिंहका अनुसार प्रेसरका विरामी साहलाई रुकुम पुगेको केही दिनपछि ज्वरो र खोकी सुरु भएको थियो। तर, उनी चिसोका कारण भएको हुन सक्ने ठानेर तातो पानी खाएर बसिरहेका थिए ।
एक–दुई दिन अगाडि ज्वरो अलि बढेपछि उपचारका लागि रुकुम पूर्वका मेडिकलमा पुगेका उनलाई त्यसपछि ज्वरो र खोकीले झनैं च्यापेको थियो ।

स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि बिदा मागेर उपचारका लागि दाङतर्फ आउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।