Breaking News

दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम

३० मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश अस्वीकार्य भएको बताएका छन् ।

सरकारले मंगलबार मात्र बहुमत सदस्यको उपस्थितिमै परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

प्रमुख विपक्षी कांग्रेसले यसको विरोध गरेको छ । कांग्रेस उपसभापति निधिले राजनीतिक दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम भएको बताए ।

‘सरकारले यसअघि पनि दल विभाजनलाई सहज बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला हाम्रो केन्द्रीय कार्यसमितिले विरोध गरेको छ’ उनले भने, ‘यो पूर्ववत निर्णय कायमै छ ।’

संवैधानिक परिषदमा सामान्य बहुमतले निर्णय गर्न खोज्नु संविधानको मर्म विपरीत भएको उनले बताए । ‘सभामुखले पुस १८ अगाडि संसद बोलाउनुपर्छ भनिरहेका बेला सामान्य बहुमतबाट निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु भनेको एकलौटी गर्न खोजेको हो’ उनले भने ।

कांग्रेस उपसभापति , विमलेन्द्र निधि