ललिता निवासको जग्गा प्रकरणमा अख्तियार आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

२८ मंसिर, काठमाण्डौ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् ।

आइतबार विशेष अदालतले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेत आरोपित देखिने भएकाले थुनामा पठाउने आदेश दिएको छ ।

उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव थिए । त्यही बेला उनले ललिता निवाससम्बन्धी फाइलको टिप्पणी उठाउने, सही गर्ने काम गरेका थिए ।

उनीविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा अख्तियारले बस्नेतसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो, जसमध्ये ११० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

उपरजिस्ट्रार पुष्पराज पाण्डेयका अनुसार यो मुद्दामा हालसम्म उनीहरूमध्ये ९७ जना बयानका लागि अदालतमा उपस्थित भइसकेका छन् । विशेषले पुर्पक्षका लागि थुनामा पठाएका बस्नेत दोस्रो अभियुक्त हुन् ।