२५ मंसिर, सुर्खेत । ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।
अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५(१ ले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो ।
पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेमारले १औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३८औं मिनेटमा नेमारले नै गोल गर्दै अग्रता दोब्बर पारे । ४० औं मिनेटमा पीएसजीका मिचेल बाकेरले गोल गरेपनि त्यसले मान्यता पाएन । तर ४२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३(० को अग्रता दिलाए ।
दोस्रो हाफमा पीएसजीले दुई गोल थप्यो । ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेमारले ह्याट्रिक पूरा गरे ।
स्तानबुलका लागि ५७० मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए । ६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले शानदार जित हासिल गरेको हो ।
जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समान अंक भएपनि हेड टु हेडमा अवे मैदानमा गोल गरेका आधारमा आरबी लाइपजिग भने दोस्रो स्थानमा रह्यो ।