केही बेरमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरा लगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन् ।
ती प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ ।

सडकमा भइरहेको प्रदर्शनलाई संकेत गर्दै संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षमा एकजुट भएको सन्देश दिन र जनतालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हुनसक्ने एक नेताले बताए ।

यसअघि मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका केही गम्भीर विषयमा छलफल गर्न सर्वदलीय बैठक आवश्यक भएको बताएका थिए ।