२२ मंसिर, काठमाण्डौ । बाणिज्य बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरिरहेका छन् ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरू १६ वटा पुगेका छन् । प्रत्येक बैंकका सञ्चालक समितिहरूले हरेक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गर्छन् । घोषित लाभांश वितरणको अनुमति नियामक राष्ट्र बैंकले दिनुपर्छ ।
राष्ट्र बैंकको अनुमति र साधारणसभाबाट समेत पारित भएपछि मात्रै सेयर लगानीकर्ताले लाभांश पाउँछन् । अहिलेसम्म घोषितमध्ये एनआइसी एसिया र हिमालयनले सबभन्दा धेरै, २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये सानिमा, बिओके, एनआइसी एसिया बैंकले साधारणसभामार्फत अनुमोदन समेत गरिसकेका छन् । केही बैंकले साधारणसभाको मिति तोकेका छन् । यस वर्ष कोरोनाका कारण सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी गराई साधारणसभा गर्ने तयारी बैंकहरूको छ ।
सानिमा बैंकका सिइओ तथा बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले यस पटक वार्षिक साधारणसभा फिजिकल र भर्चुअल दुवै तरिका ’मिक्स’ गरेर गरिएको जानकारी दिए ।
‘२५ जना मात्रै सहभागी गरायौं। अरू इच्छुकलाई भर्चुअल्ली उपस्थित गरायौं,’ दाहालले भने ।
के हो लाभांश, कसरी पाइन्छ ?
बैंकहरूले दिने लाभांश दुई किसिमका हुन्छन्। एउटा नगद लाभांश र अर्को सेयर बोनस ।
घोषित नगद लाभांश लगानीकर्ताको बैंक खातामा र सेयर बोनस डिम्याट खातामा जम्मा हुन्छ ।
बैंकको सञ्चालक समितिले लाभांश घोषणा गरिसकेपछि साधारण सभा बस्नुअघि बुक क्लोजको मिति घोषणा गर्छन् । बुक क्लोजको मितिसम्म सेयर भएका सेयरधनीले लाभांश पाउँछन् ।
बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सूत्रबाट घटाइन्छ ।
यसलाई यसरी बुझौं ।
मानौं, तपाईंसँग ए बैंकको १५० कित्ता सेयर छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित चुक्ता पुँजीको १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
यस्तोमा अब तपाईंलाई करसहित १५०० रुपैयाँ (१५० × अंकित मूल्य १०० को १० प्रतिशत) नगद प्राप्त हुन्छ ।
त्यस्तै १५ कित्ता सेयर (१५० को १० प्रतिशत) बोनस सेयर प्राप्त हुन्छ ।
सो कम्पनीको अघिल्लो दिनको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ छ भने बुक क्लोजपछि मूल्य समायोजन हुँदा २७२ रुपैयाँ (३००र १ं०.१०) कायम हुन्छ ।
दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ । नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ । बोनस सेयरको हकमा प्रायः कम्पनीले नै कर व्यवस्था गरेका हुन्छन् ।
नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ ।
हेर्नुस्, कुन कुन बैंकले कति घोषणा गरे लाभांश ?
बैंक बोनस नगद कुल
प्रभु १०० ५२ १०.५२
सिद्धार्थ १२ ३ १५
हिमालयन १४ ६ २०
नेपाल बंगलादेश ६ २.२४ ८.२४
सनराइज ५.८ २. ४८ ८. २८
एसबिआई ६ ३. ४७ ९. ४७
कुमारी १० ४ १४
एभरेष्ट ५ ५.५३ १०. ५३
सिटिजन्स ८ ३ ११
स्टान्डर्ड चार्टड ७ ४. ८४ ११. ८४
सानिमा १० ३. ६० १३. ६०
बिओके १३ ३ १६
एनसिसी १५ ०.७८ १५. ७८
एनआइसी एसिया १९ १ २०
ग्लोबल आइएमई १४ २ १६
माछापुच्छ्रे ७. ०३ ३.३७ १०. ४०
गत वर्षभन्दा घट्यो लाभांश
गत वर्षको तुलनामा यो वर्ष लाभांश घटेको छ । कोरोनाको असरका कारण बैंकहरूको नाफामै संकुचन आउँदा अधिकांश बैंकले दिने लाभांश घटेको हो ।
नाफामा कोभिडको असर परेकाले पनि लाभांशमा कमी आएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।
गत वर्ष सिटिजन्सले १५, माछापुच्छ्रेले १६, कुमारीले १०.५६, बिओकेले १७, एनआइसी एसियाले २१, सानिमाले २१, सिद्धार्थले २५, सनराइजले १५.८, ग्लोबल आइएमईले २५. ५, प्रभुले १६.८ प्रतिशत लाभांश दिएका थिए ।
त्यस्तै स्टान्डर्डले २२.५, नेपाल बंगलादेशले १२, एसबिआईले १६.८, एभरेष्टले २५ र हिमालयनले २२ प्रतिशत लाभांश दिएका
थिए ।