विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा बुधबार

२२ मंसिर, काठमाण्डौ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि बुधबार एकीकरणको घोषणा गरिँदैछ ।

अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको विवेकशीलकी नेतृ रञ्जु दर्शनाले अनलाइनखबरलाई बताइन् । ‘समितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने समेत टुंगो लागेको छ’, दर्शनाले भनिन्, ‘पार्टीको नाम पहिले जस्तै विवेकशील साझा पार्टी रहनेछ ।

साझासँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएपछि विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले असन्तुष्टि जनाउँदै एकता प्रक्रियामा सहभागी नहुने जनाएका थिए । उनीहरुले १८ मंसिरमा प्रेस विज्ञप्ति समेत जारी गर्दै तत्काल एकता गर्न उपयुक्त समय नभएको बताएका थिए ।

तर रञ्जु दर्शनाले भने यसपटक दुई पार्टीबीच एकीकरणको जग बलियो भएको बताउँदै उनले अब आमनागरिकको वैकल्पिक शक्तिप्रतिको आशा र भरोसालाई टुट्न नदिने बताइन् ।

यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए ।