अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ : त्यसैले आज म दोस्रो विवाह गर्दैछु

अभिनेत्री, श्वेता खड्का

अनि जिन्दगीका हरेक २२ मंसिर, काठमाण्डौ । ६ वर्ष अघि कलाकार तथा नायक श्रीकृष्ण सँग विवाह गरेको एक महिनामै एक्लो हुुनु भएकी अभिनेत्री श्वेता खड्काले फेरी ६ वर्ष पछि दोस्रो विवाह गर्दैछिन् । उनले आफ्नो फेसबुकमा स्टाटेड लेख्दै भनेकी छिन्, आफ्नो जीवनको दुःखद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा आफू पुगेका बताएकी छिन् ।
उनी आज मंसिर २२ गते धनगढीका विजयेन्द्र सिहं रावतसँग दोस्रो विवाह बन्धनमा बाँधिदैछिन् पनि ।

उनले भनेकी छिन्, आफ्ना परिवारका सदस्यको निरन्तर प्रयास, साथीसंगी, अग्रज र दिग्गज व्यक्तित्व लगायत शुभचिन्तकले दिएको हौसला, साहस र प्रोत्साहनकै कारण आफू यो निर्णय लिन सफल भएको उनले बताएकी छन् ।

यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, के यो पुरुष प्रधान समाजले मेरो यो निर्णय स्वीकार गर्ला र ? मलाई थाहा छ, श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ भन्ने सोच बोकेका दुई चार जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ ।’

नायीका श्वयता खड्काले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

मः जीवनको नवीन यात्रामा ।

जीवनका विभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पललाई आत्मसात गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु ।

जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे–जस्ता पीर, व्यथा, दुःख अनि कष्टसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरूलाई शब्दमा बयान गर्न पनि असमर्थ छु ।

’अचानोको पीडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुश्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडा केवल मलाई मात्र थाहा छ ।

म देख्थेँ, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जसमा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोको ज्वाला छरपस्ट भएर छरिएका छन् ।

मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ती काँडाहरूलाई पन्छाउनु पर्नेछ । पत्थरहरूलाई फुटाउनु पर्नेछ । अनि आगोको ज्वालाहरूलाई नाघ्नु पर्नेछ ।

’के म यसो गर्न सकुँला र ?’ आफैंसँग प्रश्न गर्थेँ । आफ्नै प्रश्नमा आफैंले उत्तर दिन्थेँ, कि हुत्ती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।’

अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजेँ । अनि जिन्दगीका हरेक समस्याहरूसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

’एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ वर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म। मेरो यो एकल यात्राका बखतमा धेरैपटक लडेकी छु ।

’अब उठ्नै सक्दिनँ कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै सहाराको आशा हुँदो रहेछ । महिनैपिच्छे करिब हप्ता दिनका लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधिको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।

मनभित्र गाँठो परेर बसेका अव्यक्त वहहरूलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरू व्यक्त गर्ने कोसँग ?

मैले साथीसंगतीहरूको भिडमा आँखा डुलाएर हेरेँ, तर मेरो पीडालाई महसुश गर्न सक्ने कोही देखिनँ । आफन्तको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन गरेँ। अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आफैं सम्हालिएँ अनि अनेकन समस्याहरूसँग एक्लै जुधिरहेँ ।

’मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीले एउटा जीवन साथी खोज्नका लागि नसुझाएका पनि होइनन् । तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हातहरू पाइन्छ र ?

फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगत जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ?

अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुसीको रङ भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेको जस्तो निःस्वार्थी, स्वच्छ र निष्कपटी व्यक्ति पनि पाइयो रे । अनि के यो पुरूष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ?’ म मेरा हितैषीलाई प्रश्न गर्थेँ ।

आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतीतलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु ।

म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु ।

त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन। अतीतका मीठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन ।

तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरू, अग्रज र दिग्गज व्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकले प्रदान गर्नुभएको हौसला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु । यति हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ ’के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?’

मलाई थाहा छ ’श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुई चार(जना व्यक्तिहरूलाई मेरो यो निर्णयले पोल्नेछ ।

श्रीमती स्वर्गीय भएको एक महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवा बहिनीले पूरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही व्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ ।

तर मप्रति साहनुभूति राख्ने, मलाई सदैव खुसी देख्न चाहने अनि सधैं मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरूको आशीर्वाद, सद्भाव र सुभेक्षाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई–चार जनाले स्वतः हार खानेछन् ।

अतः कोरोना सन्त्रासका बीच जुरेको खुसीको माहौलमा मैले मेरा धेरै मित्रहरू, गन्यमान्य व्यक्तित्वहरू, संचारकर्मीहरू लगायत मेरा आफन्तहरू समेतलाई सामेल गराउन असमर्थ हुनेछु ।

महामारीको यो माहौलमा सीमित व्यक्तिहरूलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरू गर्दै गर्दा तपाईंहरू सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

उही तपाईंकी छोरी,

श्वेता खड्का।