पार्टी कार्यालय धुम्बाराहीमा नेकपाको स्थायी कमिटी बस्दै : ओली नआउने सम्भावना

२१ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज आइतबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै देखिन्छ ।

हिजो शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने बताएका छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए ।

‘स्थायी समितिमा जाने भनेको के हो ? के स्थायी समितिमा रत्यौली खेल्न जाने हो ?’, ओलीको प्रश्न थियो, ‘आजपनि तपाईंहरुले बल प्रयोग गरेर बैठक भएको हो । यो बैठकमा बल प्रयोगकै हो । अव त्यो स्थायी समिति पनि बल प्रयोगकै हुने हो’, ओलीको आक्रोश थियो ।