नेकपा सचिवालको बैठक बालुवाटारमा सुरु

२० मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी छन् । बैठक सुरु हुनुअघि २५ दिन लामो संवादहीनता तोड्दै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ बीच भेटवार्ता भएको थियो ।

यसअघि गत मंगलबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण सचिवालय बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग डकुमेन्टमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका
थिए ।

यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी छ । ओलीले प्रचण्डसँग प्रत्यक्ष छलफल नगरे पनि ओली निकट नेताहरुले प्रचण्डलाई भेटेर छलफल गर्दै आएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत प्रचण्ड र ओलीसँग अलग–अलग छलफल गरेर सहमतिको प्रयास गरेकी थिइन् ।