२० मंसिर, काठमाडौं । नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र ‘प्रचण्ड’ बीच २५ दिन लामो संवादहीनता तोड्दै आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रुपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । बालुवाटारमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भइरहेको छ ।
आज नेकपाको सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । त्यसकै तयारीअनुसार दुवै अध्यक्षबीच भेटवार्ता भएको बालुवाटार निकट स्रोतले बतायो । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए ।
प्रचण्ड–माधव नेपाल पक्षले सरकारका र ओलीका व्यक्तिगत कार्यशैलीमा प्रश्न उठाइदिएका कारण ओली र प्रचण्ड पक्षबीच तिक्ततापूर्ण सम्बन्ध छ । सचिवालय बैठकमा बहुमत सदस्यहरुको तर्फबाट प्रचण्डले लिखित प्रस्ताव (ओली पक्षको भनाइमा आरोप पत्र) पेश गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
यद्यपि ओली निकटका नेताहरुले सहमतिको प्रयासमा प्रचण्डसँग निरन्तर भेटघाट र छलफल गर्दै आएका थिए । सहमतिमा ल्याउने प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ओली र प्रचण्डसँग अलग–अलग छलफल गरेकी थिइन् ।