सान पाओलो रंगशालाको नाम अबदेखि डिएगो अर्मान्डो म्याराडोना

एजेन्सी

२० मंसिर, वासिंटन । इटालियन सिरी ए फुटबल क्लब नापोलीले स्टेडिओ सान पाओलोका रूपमा चिनिदै आएको रंगशालाको नाम परिवर्तन गरेर स्टेडिओ डिएगो अर्मान्डो म्याराडोना बनाएको छ ।

इटालीको नेपल्स शहरमा रहेको यो रंगशालाले हालै निधन भएका अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको सम्मानस्वरूप नाम परिवर्तन गरेको हो ।

म्यारोडोनाले सन् १९८७ देखि १९९० सम्म नापोलीबाट व्यवसायीक क्लब फुटबल खेलेका थिए । उनले नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधिसमेत दिलाएका थिए ।

त्यसैले नापोलीमा म्याराडोना समर्थकमाझ निकै लोकप्रिय छन् । कतिपयले घरमा जिसस क्राइस्टको फोटोसँगै म्याराडोनाको तस्विर पनि राख्ने गरेका छन् ।

नेपल्सले २०१७ मा म्याराडोनालाई मानार्थ नागरिकतासमेत दिएको थियो ।

नापोलीका मालिकले म्याराडोनाको निधनपछि खुला पत्र लेखेर रंगशालाको नाम उनको सम्मानमा उनकै नामबाट राख्न प्रस्ताव गरेका थिए ।

नापोलीको नगर परिषद्ले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेसँगै रंगशालाको नाम स्टेडिओ डिएगो अर्मान्डो म्याराडोना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो रंगशालाको क्षमता ५४ हजार ७२६ जना रहेको छ । यसमा यसमा नापोली र युभेन्टसबिच सन् १९७४ मा भएको खेलमा सर्वाधिक ९०७३६ जनाले खेल हेरेका थिए ।

सन् १९९० मा भएको फिफा विश्वकप फुटबलका ५ खेलहरू यसै रंगशालमा भएका थिए । जसमा अर्जेन्टिनाले समूह चरणका २ खेलहरू यसै रंगशालमा खेलेको थियो ।

गएको गएको नोभेम्बर २५ मा ६० वर्षको उमेरमा म्यारोडोनाको निधन भएको थियो ।