हुम्लामा बोलेरो जिप दुर्घटना ४ को मृत्यु ७ घाइते

२० मंसिर, सुर्खेत । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित ७ जना घाइते भएका छन् ।

जिल्लाको सिमकोट गाउँपालिका–७, ओख्रेनीमा हिजो शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन् ।

डीएसपी सुवेदीका अनुसार मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७, का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२, का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्काकी ४५ वर्षीया डुकी तामाङ र उनका श्रीमान ४८ वर्षीय गुरु तामाङ छन् । शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप सिमकोट फर्किने क्रममा गएराति करिब ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते हुनेमा सिमकोट–२, ठेहेका जिप चालक सम्राट भण्डारी, प्युठान स्थायी घर भई सिमकोट–६ बस्दै आएका अजय बस्नेत, सिमकोट–८ खोल्सीकी कल्पना सिंह, सोही ठाउँका एक वर्षीय बालक मिलन सिंह, सम्झना शाही, नाम्खा गाउँपालिका–१ की झुमझुम लामा र सिमकोट बजार बस्दै आएका बाजुराका कवि सिंह रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

जिप सडकभन्दा करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । डिएसपी सुवेदीका अनुसार सदरमुकामबाट दुर्घटनास्थलसम्म पुग्न पैदल पौने दुई घन्टा लाग्छ । राति ११ बजे जीप दुर्घटना भएको जानकारी पाएलगत्तै सदरमुकामबाट जिप र ट्याक्टरमा उद्धार टोली पठाइएको थियो । राति १२ बजे घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो । उद्धारकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी खटिएका थिए ।