(डिआइजी) विश्वराज पोखरेल (एआइजी) पदमा बढुवाका लागि सिफारिस

१५ मंसिर, काठमाण्डौ । बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो ।

डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
यसअघि सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो ।
गृह स्रोतका अनुसार बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो ।

बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ ।

पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए । अन्यथा नभए उनी हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वतः प्रहरी नेतृत्वमा पुग्छन् ।

नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन् ।

यही सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन्।

प्रहरी महानिरीक्षक क्षत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए । तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका छन् ।