बैठक बस्न छलफल गर्न शुरु गर्नासाथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ

उपाध्यक्ष / वामदेव गौतम

१४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी बाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएको भन्दै अब चाहेमा समस्या पनि समाधान गर्न सकिने बताएका छन् ।

एक जना सदस्यले बैठक बसाल्न माग गर्दा पनि महासचिवले अध्यक्षसँग परामर्श गरेर बैठक बोलाउनुपर्ने बताउँदै गौतमले बैठक बस्न हुँदैन भन्ने विचारलाई पार्टी महासचिवले साथ दिन नहुनेसमेत बताएका छन् ।

नेकपाको शनिबार बसेको सचिवालय बैठकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले सो कुरा बताएका हुन् । पार्टीको जीवन कमिटीका बैठकहरुमा र बैठकहरुको जीवन छलफलमा हुने बताउँदै गौतमले भनेका छन्, ‘यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न शुरु गर्नासाथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।’ गौतमले बैठक बस्ने वातावरण बनाउन मेहनत गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको लिखित जवाफ दिएका थिए । त्यसअघिको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेतको सहमति रहेको प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा ओली र उनले नेतृत्व गरेको वर्तमान सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै बिभिन्न आरोपहरु लगाइएका थिए ।

सुरुमा ओली पक्षले प्रचण्डले पेस गरेको सो प्रस्ताव ‘आरोप पत्र’ मात्र भएको भन्दै बैठक नबस्ने अडान लिएको थियो । तर १० दिनको समय लिएर तयार पारिएको जवाफ ओलीले शनिबारको बैठकमा पेश गरेका थिए ।