बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्छु- डोनाल्ड ट्रम्प

एजेन्सी

१२ मंसिर, काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएपछि पहिलो पटक ट्रम्पले बिहीबार पत्रकारहरूसँग निर्वाचनको परिणामबारे अन्तर्क्रिरया गरेका हुन् । उनले आफ्नो हार भने स्वीकार्न तयार नभएको बताए ।

’पक्कै पनि म छाड्नेछु, यो तपाईंहरूलाई थाहा छ,’ उनले भने,‘ यसलाई स्विकार्न निकै कठिन हुनेछ किनकी हामीलाई थाहा छ कि चुनावमा ठूलो धाँधली भएको छ ।

उनले जो बाइडेनले ८ करोड मत ल्याउन सम्भव नभएको जिकिर गरे । ट्रम्पले सुरूदेखि नै चुनावमा धाँधली भएर आफूलाई हराइएको तर्क गर्दै आएका छन् ।

यसबारे ट्रम्पलाई प्रतिप्रश्न गर्न लागेका समाचार संस्था रोयटर्सका पत्रकारलाई उनले हतोत्साही गरे ।। ‘म अमेरिकाको राष्ट्रपति
हुँ । राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस् । कुनै पनि राष्ट्रपतिसँग त्यसरी कुरा नगर्नुस्,’ ट्रम्पले भने ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक मत परिणाम अझै सार्वजनिक भएको छैन । केही राज्यहरूमा धाँधली भएको भन्दै ट्रम्पको अभियानका मान्छेहरूले मुद्दा हालेका छन्। तीमध्ये धेरै मुद्दा अदालतले खारेज गरिदिएका छन् ।

हार स्वीकार्न आनाकानी गरे पनि ट्रम्प प्रशासनले शक्ति बाइडेनलाई हस्तान्तरण गर्ने प्रक्रिया भने सुरू गरिसकेको छ । आफ्नो क्याबिनेटका मन्त्रीहरू घोषणा गरिरहेका बाइडेनले ह्वाइट हाउसका ब्रिफिङ लिन थालेका छन् ।

अमेरिकी संविधानअनुसार राष्ट्रपति निर्वाचित बाइडेनले जनवरी २० मा सपथ लिनेछ न्।