कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन

१२ मंसिर, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज विज्ञप्ति निकालेर कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेका हुन् ।

आज बसेको नेपाल सरकार सचिवस्तरको निर्णयअनुसार भन्दै उनले जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जोखिम भत्तासमेत समावेश गरी असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै कात्तिक महिनाको रकम भुक्तानीको क्रममै रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो सञ्चार माध्यमहरूमा आएको भन्दै मन्त्रालयले भत्ता उपलब्ध गराउने कार्य भइरहेको बताएको हो ।