ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउने

११ मंसिर, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिवसँग आज भएको भेटघाटमा नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाण्डौ आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका
थिए । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।

भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।