पिसीआर गर्न सरकारी परिचयपत्र अनिवार्य

७ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो । विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ ।

साथै इनकन्क्लुसिभ रिपोर्ट (नेगेटिभ वा पोजेटिभ यकिन नभएको) आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिइएको छ । सबै प्रयोगशालाले क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाउन लागू गर्न पनि भनिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यस्तै विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गर्ने निर्णय पनि भएको छ ।