पार्टीभित्र देखिएको विवाद र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छायो

३ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलाढाली गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले प्रदेश र स्थानीय सरकारहरू पनि छाडा भएको बताए ।

‘तीन तहका सरकार छाडा भएका छन्, गम्भीर समीक्षा गरेर सच्याऔं । ढिलाढाली नगरौं । नेता नेपालले पार्टीभित्र देखिएको विवाद र झगडाले पनि जनता र कार्यकर्तामा निराशा छाएको बताए ।

‘हाम्रा क्रियाकलापले जनता र कार्यकर्तामा निराशा छाएको छ । हामीले आफूलाई समीक्षा गरेर सच्याएर अघि बढ्नुपर्छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन उठाइएका प्रश्नको जवाफ दिन आफूलाई समय लाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डले निराधार आरोप लगाएको भन्दै त्यसको जवाफ दिन १० दिन समय लाग्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले समय मागेपछि आज बसेको नेकपा सचिवालय बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको छ ।

आजको बैठक मंसिर १८ गते पार्टी स्थायी कमिटी र २५ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।