सचिवालयका सबै सदस्यहरुले सामुहीक राजीनामा दिऔं

महासचिव / विष्णुप्रसाद पौडेल

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठकमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए । पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका छन् । बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए ।

‘मलाई तथ्यपरक प्रतिवेदन लेख्न समय लाग्छ । म माथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न सकिन्न’, प्रधानमन्त्रीको भनाइ थियो । बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बैठक स्थगित गरिएको छ ।

अर्थात्, दश दिन लगाएर प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन ल्याउनेछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारकै बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् ।

प्रचण्डको प्रतिवेदन प्रति ओलीले आपत्ति जनाउँदै आएका छन् । ओलीले प्रचण्डको पत्रको जवाफ नै नदिने नेताहरुलाई बताएका थिए । तर, प्रचण्डले पेश गरेको पत्रको जवाफ प्रधानमन्त्रीले तयार पार्ने भएका छन् ।

ओलीले छुट्टै प्रतिवेदन तयार पारेपछि बैठकमा प्रस्तुत भएका सवै प्रस्तावमाथि मंसिर १३ मा बस्ने सचिवालयले छलफल गर्नेछ । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठक सारेको छ ।