ओली पक्षद्धारा प्रचण्ड–माधव पक्षसँग सचिवचालय बैठक सार्न प्रस्ताव

प्रचण्डद्धारा बैठक सार्ने–नसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ

२ मंसिर, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड–माधव पक्षसँग प्रस्ताव गरेको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेको बालुवाटार स्रोतले बताएको छ ।

तर, प्रचण्डले भने बैठक सार्ने–नसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएको बुझिएको छ । ‘बुधबार बैठक बसौं, त्यहीँबाट जे निर्णय गर्ने हो गरौंला’ भनेर प्रचण्डले जवाफ दिएको एक नेताले बताए ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताइरहेका छन् ।

यो अवस्थामा बुधबारको बैठक स्थगित गर्ने ओली पक्षको प्रस्ताव प्रचण्ड पक्षले नमानेपछि बैठक नरोकिने लगभग निश्चितजस्तै देखिएको छ । तर, सो बैठकमा ओली पक्षका नेताहरु सहभागी हुनेर नहुने निश्चित छैन ।

प्रचण्ड–माधव पक्ष भने सहमतिकै आधारमा बैठकको मिति तय भएकाले बहुमत सदस्यको उपस्थितिमै भए पनि बैठक बस्ने बताउँछन् ।

बुधबारको सचिवालय बैठकबाट स्थायी कमिटीको बैठकको मिति तय गर्ने प्रचण्ड–माधव खेमाको तयारी रहेको बुझिएको छ । तर, ओली पक्षको आग्रहलाई विचार गरेर भोलिको सचिवालय बैठक थप लम्बिन पनि सक्ने पनि बताइएको छ ।