तिहारले धपक्क भएको काठमाण्डौ बजार र भिडभाड

२७ कात्तिक, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार बिहीबारदेखि सुरु हुँदैछ । जसअनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले
जनाएको छ । यस्तै शुक्रबार कागतिहार सुरु भएको छ ।

तिहारले छपक्कै छोपेसँगै बजारमा चहलपहल बाक्लिएको छ । कोरोना महामारीका बीच पनि राजधानीका असन इन्द्रचोकलगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका, माला, फलफूललगायतका विभिन्न सरसामान किन्नेहरुको भीड
देखिन्छ ।

यसरी सामान किन्न पुग्नेहरुले संक्रमणबाट जोगिनका लागि सामाजिक दुरी कायम गरेको पनि पाइँदैन । यसवर्षको भाइटीका मंसिर १ गते परेको छ भने लक्ष्मी पुजा २९ गते परेको छ । तिहारको भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, मालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रहेको छ ।

मङ्सिर १ भाइटीकाको साइन बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने समितिका अध्यक्ष डा रामचन्द्र गौतमले बताए ।

भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।