पार्टीको बिधानको व्यवस्था अनुसार सचिवालय बैठक बस्ने

प्रधानमन्त्री एवं अध्यक्ष, केपी शर्मा ओली

२५ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवादले चरम रुप लिन थालेको छ । आज कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमत सचिवालय सदस्यहरुको बैठकले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पर्सि २७ गते सचिवालय बैठक राख्न माग गरेपछि आजै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विधानको व्यवस्था अनुसार सचिवालय बैठक बस्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा प्रधानमन्त्रीले प्रचण्डलाई पार्टी विधानको व्यवस्थाअनुसार महासचिवले बैठक बोलाउने बताएका हुन् ।

’प्रचण्ड सहितका ५ सचिवालय सदस्यले बैठकका लागि लेखेको पत्रमा प्रधानमन्त्रीले तोक लगाइसक्नु भएको छ । बैठक माग गरेको १५ दिनभित्र महासचिवले बैठक बोलाउनु हुन्छ भनेर प्रधानमन्त्रीले भन्नु भएको छ,’ प्रधानमन्त्री निकट श्रोतले भन्यो, ’कार्यकारी अध्यक्षले बैठक सञ्चालन गर्ने हो । बैठक बोलाउन मिल्दैन । अरुले त मिल्ने कुरै भएन । उहाँहरूले बैठक माग गर्ने हो जुन काम गरिरहनु भएको छ ।

प्रचण्डले भने कात्तिक २७ गते सचिवालय बैठक बोलाउनुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीसँग भएको भेट लगत्तै प्रचण्ड धुम्बाराही पुगेका थिए । धुम्बाराहीमा प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक बसेको थियो ।

उक्त बैठकले २७ गते प्रधानमन्त्री ओलीले बैठक नबोलाए त्यसपछि मात्रै के गर्ने भनेर निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रोतका अनुसार प्रधानमन्त्री ओली बैठकका लागि तयार नभएमा सचिवालय बैठक बोलाएर स्थायी कमिटी बैठकको मिति तय गर्ने बहुमत सचिवालय सदस्यको तयारी छ । स्थायी कमिटीले गर्ने निर्णयका आधारमा अघि बढ्ने उनीहरूको योजना छ ।